FAQs Complain Problems

परिचय

क) याङवरक गाउँपालिकाको संक्षिप्त परिचय

अ. ऐतिहासिक पृष्ठभूमि र नामाकरण

सङ्‌घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार पाँचथर जिल्ला कोशी प्रदेशमा अवस्थित छ । विगतको प्रशासनिक विभाजन अनुसार मेची, कोशी र सगरमाथा अञ्चल अन्तर्गतका १४ जिल्ला रहेको यो प्रदेशको पाँचथर जिल्ला मेची अन्चलमा पर्ने पहाडी जिल्ला हो । राज्य पुर्न संरचना अनुसार पाँचथर जिल्लामा ८ वटा स्थानीय तह निमार्ण गरिए अनुसार १ नगरपालिका र ७ गाउँपालिका रहेका छन । याङवरक गाउँपालिका पाँचथर जिल्लाको सुदुर पूर्वी–उत्तर क्षेत्रमा रहेको गाउँपालिका हो । साविक पाँचवटा गा.वि.स.हरु (च्याङथापु, फलैचा, ओयाम, थर्पु र नागी) लाई मिलाएर यस गाउँपालिकाको निर्माण भएको हो । जसको सिमाना छिमेकी मुलुक भारतमा समेत जोडिन पुग्दछ । यस गाउँपालिकाको भौगोलिक अवस्थिति समुन्द्र सतहबाट ६०९ मिटर उचाईको  याङवरक ४ खाल्डे नागीदेखि ४५७५ मिटर उचाईको याङवरक २ फलैचाको चुचुरो सम्म फैलिएको छ ।

चीन–तिब्बतबाट आसाम हुदै ई.पू. १५०० तिर नेपाल छिरेका किराँतहरुले महिसपालहरुलाई विस्थापित गरी लामो समयसम्म उपत्यकामा शासन गरेका थिए । वि.स. १६२ मा लिच्छवीहरुले राज्यसत्ता लिए पछि उनीहरु उपत्यकाबाट पूर्वतिर लागेको प्राचिन इतिहासमा उल्लेख छ । पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर जस्ता राज्यहरुमा छरिदै तत्कालिन समयमा सुनकोशी नदिदेखि लिखुसम्मको भू–भागलाई वल्लो किरात, लिखुदेखि अरुणसम्मको भू–भागलाई माँझ किरात, अरुणदेखि टिष्टा नदिसम्मको भू–भागलाई पल्लो किराँत भनेर चिनिन्थ्यो । उपर्युक्त क्षेत्रहरु खम्बुवान र लिम्बुवानको नामले प्रसिद्ध थिए । बर्तमान नेपालको मानचित्र अनुसार रामेछाप, उदयपुर, खोटाङ, भोजपुर र ओखलढुङगा जिल्लाहरु खम्बुवान अन्तर्गत पर्दथे भने ताप्लेजुङ, तेह्रथूम, संखुवासभा, पाँचथर, धनकुटा र ईलाम लिम्बुवान अन्तर्गत पर्दथे । किरातहरु चौदण्डीलाई किरात राज्य मान्दथे भने लिम्बुहरु विजयपुर राज्यलाई केन्द्र मानेर आ-आफ्नो क्षेत्रमा स्वायत्त शासन चलाउथे । - (किरात इतिहासकार - ईमानसिंह चेम्जोङ्ग)

अङग्रेज साम्राज्यको विगविगीदेखि बाच्नका लागि पृथ्वी नारायण शाहले कर्णाली क्षेत्रका २२, गण्डकी क्षेत्रका २४, उपत्यकाका ३ र पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर राज्यहरुमा एकिकरण अभियान संचालन गरे । ई.सं. १७७४ जुलाई १७ तदअनुरुप वि.सं. १८३१ मा विजयपुर नेपालमा गाभिँदा विजयपुरका तत्कालिन राजा कर्णसेन र मन्त्रि बुद्धिकर्ण राई भागेर सिक्किम पुगेका थिए । अभिमानसिंह बस्नेतले निजहरुलाई सुपुर्दगी गर्न सिक्किमका राजासंग माग गर्दा सिक्किमले उनिहरु शरण लिन आएकोले फिर्ता गर्नुको सट्टा अघि विजयपुरबाट जितेर लिएको ईलाम लानु भनि नेपाललाई दिए । (श्रोतः याङवरक गाउँपालिकाको बस्तुगत विवरण, २०७४ को पेज नं. ३)

लिम्बुवान केन्द्रिय सत्ताको अधिनमा गएपछि स्थानीय शासन तथा कर राजश्व समेतको जिम्मा हेर्ने गरी स्थानीय अगुवालाई थरी, जिम्मावाल, सुब्बा तोकियो । थर्पू कालिका धाममा लिम्बुवान क्षेत्रका सरदारहरुले सभा गरी १० लिम्बुवानको ठेक्का, रितिथिति, सुभाङगी निच्चित गरेको ईतिहासबाट प्रष्ट हुन्छ । केन्द्रबाट केहि शासकीय अधिकार हस्तान्तरण गर्ने क्रममा वि.स.१८९६ साल फाल्गुनमा श्री कम्फू निशान मतपाल सिं माबो, थर्पूले जिम्मा बुझिलिएको र वि.स. १९०८ बैशाखमा श्री जङ्गी निशान बागदल सेलिङ (ओयाम) ले जिम्मा बुझिलिएको मुचुल्का अनुसार थाहा हुन्छ ।  

१७ थूम १६ थरी ५२ सुब्बाहरुको सभा याङवरकको केन्द्रभागमा रहेको ऐतिहासिक कालिकाधाम थर्पू जोरधारामा भएको थियो । यसै सभाबाट हरेक बर्ष वडा दशैंको अष्टमीको दिन हाजिर गराई नवमीका दिन कालिकाधाममा भोग दिन गरी निशान जिम्मा लिनेदिने प्रचलन बाँधिएको थियो र यो चलन यद्यपी जारी छ । ५२ सुब्वाहरुले पालैपालो एकबर्षका लागि ताम्रपत्र, तरबार, खुंडा, नगरा, कर्नाल, चमर, बन्दुक, त्रिशुल, निशानको सामान आदि बुझ्ने र हरेक बर्ष वडा दशैंको अष्टमीको दिन थर्पू कालिकाधाममा हाजिर गरी एकरात कारवारीकोमा राख्ने र भोलिपल्ट नवमीका दिन २ बजे मौलो भोग दिने गरिन्छ । मुखिया, नौभैया, चारभैया, कारवारी, बुढौली आदीले पालैपालो अष्टमीको एक रात निशान राख्ने चलन यथावत चलिरहेको छ । यस धाममा लिम्बुवान क्षेत्रका सरदारहरुको सभाको साथै १७ थूम १६ थरी ५२ सुब्वाहरुको हरेक बर्ष एवं आवश्यकता अनुसार भेला भई बैठक बस्ने, छलफल गर्ने, समस्या समाधान गर्ने जस्ता कार्य सम्पन्न गरेको देखिन्छ । यसरी विभिन्न क्षेत्रका जिम्मेवार ब्यक्तिहरुको भेला हुने एवम् भेटघाट हुने भएकोले यस क्षेत्रका नाम थर्पू रहन गएको देखिन्छ । १७ थूम १६ थरी ५२ सुब्वाको भेला छलफल यस रमणीय प्राकृतिक छटायुक्त कालिका देविको थानमा हुने र बर्षेनी मेला लाग्ने चलन हुदैं धामको रुपमा विकास भएको हो । (श्रोतः याङवरक गाउँपालिकाको बस्तुगत विवरण, २०७४ को पेज नं. ४)

आ. कालिका देवि माता धाम

विशाल काभ्राको फेदमा काभ्राको जराको थाम, जराको भित्ता, जराकै छानो र जराकै भुई भएको प्राकृतिक तथा अलौकिक रुपमा कालिका माताको थान रहेको छ । कालिका माता थानको उत्पति मानव बस्तिको विकास भन्दा पनि अघि भएको अनुमान गरिएको छ । सत्ययुगमा यस ठाँउमा विशालताल रहेको र सो ठाँउमा देवि देवता खेल्ने नुहाउने गरेकोले यसलाई लिम्बु भाषामा माङवरक (देवि देवता नुहाउने ताल) भनिएकोमा धेरैपछि आएर त्यसवेलाका राजाहरुले अघि देवि देवता नुहाउने गरेको थाहा, पाएकोले यो ताललाई सिद्ध तालको रुपमा लिइ नुहाउने ठाँउ बनाई नुहाउने, पुजाआजा गर्ने, भेटी चढाउने जस्ता कार्यहरु गरेकामा राजाहरुले नुहाएको देखेकोले ति देख्नेहरुले यस ताललाई लिम्बु भाषामा हाङवरक (राजा नुहाँउने ताल) भन्ने नाम राखे । पछि आएर यसमा पुजारीहरुले पुजाआजा गर्न थाले । पुजा गर्दा तालमा हात लगाउदा अघि राजा तथा भक्तालुहरुले चढाएको रुपियाँ पैसा पुजारीको हातभरी आएको देख्नेहरुले यो त लिम्बु भाषामा याङवरक (पैसाको ताल) पो रहेछ भनि नामाकरण गरे भन्ने इतिहासकार तथा जानकारहरुको भनाई रहेको छ । अहिलेसम्म पनि यो ठाँउ याङवरककै नामले प्रसिद्ध छ । यस ठाँउको बास्तविक स्थिति हेर्दा पनि यो ठाँउमा विशाल ताल रहेको स्वतः अनुमान गर्न सकिन्छ किनकि वरीपरी समतल ठाँउ, २ सय मिटर विचमा करिब २५ भन्दा वढी पानीका मूल रहेको, हालसम्म पनि करिब १० रोपनी जति सिमसार तथा दलदल रहेको छ । सत्य यूगमा देवि माता नुहाएको ठाँउमा काभ्रा उम्रेको र उक्त काभ्राका जराबाट  कालिका देविको मन्दिर बनेको र कालिका देविको उत्पत्ति भएको विश्वास गरिन्छ । उक्त काभ्राको नजिक जोरधारा रहेको छ । हाल उक्त काभ्राको फेद वरिपरि गरी करिब ५० मिटर भन्दा पनि ठूलो छ । यस ठाँउमा हरेक बर्ष कालिका थानमा भोग दिने, भाकल गर्ने क्रमसंगै कालान्तरमा धामको रुपमा विकास भएको स्पष्ट आधारहरु रहेका छन । रोगब्याधि निको हुने, शक्ति प्राप्त हुने, मानमर्यादा बढ्ने, भर्ति जाने आदि जनविश्वासले कालिका माताको पुजा अर्चना गर्ने चलन रहन गएको हो । (श्रोतः याङवरक गाउँपालिकाको बस्तुगत विवरण, २०७४ को पेज नं. ४)

कालिका थानको दक्षिणपट्टी मानिस पस्न नसकिने ७ रोपनी जतिको दलदल र त्यसको केहि माथि शिरमा सिद्ध थान तथा सिद्ध पोखरी रहेको छ । तत्कालिन अवस्थामा दलदलबाट निस्कने पानीबाट दुई वटा धारा निरन्तर बगिरहेने हुनाले यसको नाम जोरधारा रहन गएको हो भने हाल ८ वटा धारामा निरन्तर रुपमा पानी बगिरहेको देख्न सकिन्छ । जोरधाराबाट निस्केको पानी याङवरक खोला भएर बगेको छ र कावेली, ईवा तथा याङवरक तिन नदिको संगमलाई पवित्र त्रिवेणी स्थलको रुपमा मानिएको छ । यस कालिका धाम वरिपरि बार्षिक निशान मेला लाग्ने टुडीखेल तथा मौलो समेत गरी अन्दाजी २० रोपनी जग्गामा देश विदेश देखि हजारौ भक्तजनहरु भेला भई  मेलाको दिन पुजा–पाठ तथा जात्रा मनाउने गरिएको छ ।  (श्रोतः याङवरक गाउँपालिकाको बस्तुगत विवरण, २०७४ को पेज नं. ५)

ख. भौगोलिक स्वरुप र भू–धरातलिय वनावट

सङ्‌घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मानचित्रमा याङवरक गाउँपालिकाको फैलावट २७.२७० उत्तरी अक्षांश देखि ८७.८६० पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा भारतको सिक्किम, पश्चिममा हिलिहाङ गाउँपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाका पाथीभरा याङवरक गाउँपालिका, सिरिजंगा र सिदिङवा गाउँपालिकाहरु र दक्षिणमा फालेलुङ र हिलिहाङ गाउँपालिकासँग सिमाना जोडिएको छ । मुख्य रुपमा पहाडी र केही उच्च पहाडी भू-भागमा फैलिएको यो गाउँपालिका भाङबारी-काबेली बगर (याङवरक ०६ नागि– खाल्डे) समुद्री सतह करिब ६०० मिटर देखि ४५७५ मिटर (याङवरक ०२ साविक फलैचा गा.वि.स.) को चुचुरोसम्म फैलिएको छ । यस गाउँपालिकाको क्षेत्रफल २०८.६३ वर्ग किलोमिटर रहेको छ ।

यस गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार १८,२८१ जनसंख्या रहेको छ । हाल निर्माणाधिन मध्य पहाडी (पुष्पलाल) लोकमार्गको उद्गम स्थल च्याङथापूको चिवाभञ्ज्याङवाट सुरु भइ च्याङथापु बजार, फलैचा, ओयाम, थर्पु, नागीको गणेशचौक हुदै हिलिहाङ गाउँपालिका तर्फ गएको छ । यस गाउँपालिकाको केन्द्रबाट ताप्लेजुङ जिल्लाका पाथीभरा याङवरक, सिरिजंघा र सिदिङवा गाउँपालिकाहरु र सबै वडा सम्म कच्ची सडक सञ्जाल रहेको छ । याङवरक गाउँपालिकालाई पुरानो संरचनाका ५ (पाँच) वटा गाउँ विकास समितिहरु जोडेर पुनसंरचित गरिएको छ । यसरी संरचित गाउँपालिकालाई ६ (छ) वटा वडामा विभाजन गरिएको छ ।

यस गाउँपालिकामा उष्ण, उपोष्ण, समसितोष्ण, लेकाली हावापानी पाइन्छ । यस्तो हावापानी पाइने स्थानहरुमा अलैची, अम्लिसो, चिरैतो, धान, मकै, गहुँ, आलु, केराउ, फापर, दलहन, तेलहन, सदाबहार फलफूलहरु आँप, लिची, केरा, रुखकटहर, भुँईकटहर, र मौसमी सुन्तोला, अदुवा, चिया जडिबुटी साथै विभिन्न किसिम र जातका तरकारीहरु खेती गरिनुका साथै गाई, भैंसी, चौरी, भेडा, बाख्रा, बंगुर-सुगुर, कुखुरा आदि व्यवसायिक र व्यक्तिगतरुपमा पशुपालन गरिदै आएको छ । स्थानीय तहको पहिलो पटक निर्वाचन हुन गइ गाउँपालिले जनप्रतिनिधिहरुको नेतृत्व पाएको छ । गाँउसभा, गाँउकार्यपालिका, न्यायिक समिति गठन भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार आवश्यक विभिन्न विषयगत समितिहरु गठन गरी गाँउसभा मार्फत समयमानै आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । यस गाउँपालिकाको पाँचौं गाँउसभाले “कृषि, वन, पर्यटन प्रवर्धन र समावेशी समाजको सृजना, समाजवाद उन्मुख दिगो विकास र समृद्धि याङवरकको चाहाना” भन्ने नारा समेत तय गरेको देखिन्छ । (श्रोतः याङवरक गाउँपालिकाको बस्तुगत विवरण, २०७४ को पेज नं. ५)